स्वीडेनको राष्ट्रिय दिवसमा नेपाली पोसाक र गौतम बुद्धबारे जानकारी

Published On: Saturday, June 9, 2018 | Source: NRNA SWEDEN
काठमाडौं । स्वीडेनको राष्ट्रिय दिवसको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनले नेपाली पोसाक प्रदर्शनी गरेको छ ।स्टकहोल्ममा गरिएको कार्यक्रममा  ‘कल्चर फेस्टिबल’ मा नेपाली संस्कृति झल्किने विभिन्न जनजातिका भेषभुषाको नेपाली पोशाक प्रदर्शनी गरिएको थियो । 
स्वीडेनमा रहेका बिभिन्न समुदायहरुले भाग लिएको सो कार्यक्रममा गैरआवासीय नेपाली संघलाई आफ्नो प्रस्तुतिको लागि समय दिइएको थियो ।कार्यक्रममा संघका सचिब राजकुमार पाठकले नेपालको भेष–भुषा, भाषा–संस्कृति, रहनसहन, रितिरिवाज आदिको बारेमा स्वीडिस भाषामा जानाकारी गराएका थिए ।
उनले नेपाल भौगोलिक दृष्टिकोणले जतिसुकै सानो भएपनि भाषिक र साँस्कृतिक दृष्टिकोणले विश्व मानचित्रमा एक सम्पन्न देशको परिचय बनाएको चर्चा गरे । साथै उनले नेपाल विभिन्न जातजातिहरुको एक साझा फुलबारी हो भनि चिनारी गराए । गौतम बुद्धलाई जन्म दिने नेपालको  प्राकृतिक सौन्दर्य परिचय दिलाउँदै उनले नेपाल घुम्न जान प्रेरित समेत गरे ।
उक्त अवसरमा मन्तब्य पछि लाइनबद्ध रुपमा नेपालको जनजातिहरुको पोशाक पहिरन प्रदर्शनका साथै पहिरनको ब्याख्या समेत गरिएको थियो । जसमा क्रमशः शेर्पाको पोसाकमा प्रविन श्रेष्ठ र बिनु क्षेत्री, मगरको पोसाकमा घनश्याम पुन र पुष्पा पुन, गुरुङको पोसाकमा कुमार गुरुङ, मित्रु गुरुङ र एलिन गुरुङ थिए ।
साथै नेवारको पोसाकमा ध्रुब क्षेत्री र सरिता ढकाल, थारुको पोसाकमा रामचन्द्र गौतम र श्रीमाया पाईजा, ब्रम्हाणको पोसाकमा प्रबेश कुँवर र अम्बिका सिग्देल, लिम्बुको पोसाकमा अर्जुन कुमार श्रेष्ठ र उषा गौतम सहभागि थिए । तामाङको  पोसाकमा भने लक्ष्मण खड्का र शर्मिला पाईजाबाट प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्त्यमा लोकप्रिय मारुनी नृत्य देखाईएको थियो ।
दिया श्रेष्ठ, सृजना तामाङ, अम्बिका खनाल र कुशुम आचार्यले प्रस्तुती दिएको नृत्यलाई सयौं सहभागिहरुले चाख मानेर हेरेका थिए । कार्यक्रममा उपस्थिति जनाउनेहरुलाई एनआरएनएले विशेष धन्यवाद ब्यक्त गरेको एनआरएनएका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
(source:http://freshnewsnepal.com:)